बिहानीको लाल किरणमा
गोली ठोकेर पूरा गरे तिनका लक्ष्यहरु
रगतको छिर्काले रङ्गियो बगरका ढुङ्गाहरु
छातिमा गोली लागेर सहिद हुने बेलामा
इन्कलाब मुट्ठी उठाएर जिन्दाबादको स्वरले मुठ्ठी उचालेर
आक्रोसका स्वरहरु पोखिए !
१० वर्षे सशस्त्र जनयुद्धलाई आधारमा बनाएर लेखिएको कविता संग्रह “मृत्यु टेकेर पलपल” लोकार्पण भएको छ ।
बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया “विवेक” द्वारा रचित कविताहरुको संग्रह “मृत्यु टेकेर पलपल” यहि माघ २८ गते लेखकको जन्मदिनको सु-अवसर पारेर एक भव्य समारोह बिच नेपाली साहित्यका धरोहर कवि तथा साहित्यकार डा. नवराज लम्साल, कवि तथा लेखक नविनबन्धु पहाडीबाट लोकार्पण भएको छ ।
जनयुद्धमा भोगेको पिडादायी क्षणहरु, आफ्नै अगाडी देश र जनताका लागि आफ्नै परिवारका सदस्य र सहयोद्ध शहिद भएका क्षणको सम्झना, जेल र नेल सहेको पिडादायिक क्षणलाई लेखकले काव्यिक रुपमा कवितामा प्रस्तुत गरेका छन् ।
लेखक आफ्नो कलमबाट लेख्छन्…
“अन्धार रातमा ज्यानको बाजी लगाएको बेला रातो रातो गोलिका पर्राहरु कानको छेउबाट, टाउको अनि छातीकै छेउबाट ड्याङ ड्याङ गर्दै उडेको बेलाको परिकल्पना थियो कविता ! सायद जीवनको कविता !”
“यो मेरो सानो कोसिस हो, संघर्ष अनि सहास पनि हो । जीवनको यात्राको क्रममा आइपरेका घटना र परिघटनाको विम्ब हो । गोलीका पर्राहरु कान र टाउको माथिबाट उड्दा जिन्दगीमा नबिर्सिने दुःख, कष्ट अनि आपतविपत् पर्दा कहिलेकसो रमाइलो, खुसियाली मनमा छाउँदा उत्पन्न भएका भावनाहरुलाई कविताको रुपमा बगाउने कोसिस मात्र गरेको हुँ ।”
कविताकै सन्दर्भमा साहित्यकार नवराज लम्साल लेख्छन्:
“विवेक परिवर्तन हुन्, आगो टेकेर हुर्केका चेतना हुन् र जीवनलाई मृत्युकै आँखाले हेरेर सप्रेम बाँचेका तन्नेरी हुन् । उनका कविता विचारका कविता हुन् र विचारका जगमा उनी परिवर्तनको विवेक लिएर आएका छन् ।”
“बोल्नु, गर्नु र बाँच्नुको त्रिवेणीमा विवेकले विवेककै प्रयोग गरेका छन् । यी कविता उनका आँशु, आशा र सपना हुन् । आफ्नै दैलोमा विभत्सताको अग्नि हुर्हुरिएपछि उनी आफैँ पनि आगो भएका हुन् । आगो भएका बेला उनले आगोकै कविता लेखे । त्रिशुली नदीमा नुहाएर बसेनन्, आगैसँग खेल्न निस्के । आगोसँग खेल्नेले आगो पनि टेक्छ, अँगार पनि टेक्छ । उनका कवितालाई यसरी हेरिनु पर्छ ।”
समग्रमा कविताले जनयुद्धको कठोर समय देखि परिवर्तनको झिल्कोसम्मका सम्पूर्ण भावलाई प्रकट गरेको छ ।
